काठमाडौं । विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउने विषयमा सरकारले पर्याप्त पहल नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन आफूले लगातार ३७ दिनदेखि सदनको शून्य समयमा आवाज उठाउँदै आए पनि अहिलेसम्म ठोस पहल हुन नसकेको भन्दै असन्तुष्टि जनाइन्।

उनका अनुसार विदेशमा अलपत्र अवस्थामा रहेका नेपालीका शव स्वदेश ल्याउन अर्थ मन्त्रालयले आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ। तर, परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि तयार नगर्दा बजेट कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

सरकारी प्रक्रियामा भइरहेको ढिलाइका कारण मृतकका परिवारले आफ्ना आफन्तको शव स्वदेश ल्याइने आशासमेत गुमाउँदै गएको उनले बताइन्। विदेशमा मृत्यु भएका नेपालीका परिवारले भोगिरहेको पीडाप्रति सरकारले संवेदनशील भएर तत्काल आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने उनको माग थियो।

सांसद तामाङले आफूले उठाएको विषयमा स्पष्ट सम्बोधन र सभामुखबाट रुलिङ नआएसम्म सदनमा उभिएरै विरोध जनाइरहने चेतावनीसमेत दिइन्।

यसैबीच, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com