काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै नेतृत्व निष्पक्ष अभिभावकको भूमिकामा रहनुपर्ने बताएका छन्। साथै, उनले हालै डा. शशाङ्क कोइरालाको संयोजनमा सम्पन्न इतर समूहको राष्ट्रिय भेलालाई पार्टीको आधिकारिक संरचनाबाहिर भएको भन्दै त्यसबाट आएका निर्णय तथा दस्ताबेजलाई कांग्रेसको आधिकारिक दस्ताबेज मान्न नसकिने बताएका छन्।

सोमबार जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री पौडेलले सभापति देउवा पार्टीभित्रको विवादमा निष्पक्ष ‘रेफ्री’ को भूमिकामा रहनुपर्नेमा एउटा पक्षको समर्थनमा उभिएको जस्तो देखिएको टिप्पणी गरे।

उनले देउवाबाट पार्टीका सबै पक्षलाई समान व्यवहार गर्ने अभिभावकीय भूमिका अपेक्षा गरिएको भए पनि त्यसअनुसारको व्यवहार हुन नसकेको बताए।

‘हामीले शेरबहादुर दाइ रेफ्री भएर फर्कनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ, उहाँ कसैको जर्सी लगाएर फर्कनुहुन्न भन्ने थियो,’ पौडेलले भने, ‘तर सभापतिको नेमप्लेट राख्दैमा कोही सभापति हुने होइन, व्यवहार पनि त्यस्तै हुनुपर्छ।’

महामन्त्री पौडेलले पार्टी नेतृत्वले कुनै एउटा समूहको पक्षपोषण गर्दा संगठनभित्र थप विभाजन र असुरक्षा बढ्ने चेतावनीसमेत दिए। पार्टी बलियो भए मात्रै त्यससँग आबद्ध सबैको सुरक्षा हुने उल्लेख गर्दै उनले नेतृत्वले व्यक्तिगत वा गुटगत हितभन्दा पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले पार्टीभित्र कसैलाई पूर्वमहामन्त्री वा अन्य कुनै पदको आधारमा आफूलाई ठूलो ठान्ने प्रवृत्तिको समेत आलोचना गरे। कांग्रेसभित्र एकअर्कालाई अपमान गर्ने शैली अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

यसैबीच, डा. शशाङ्क कोइरालाको संयोजनमा हालै सम्पन्न इतर समूहको राष्ट्रिय भेलामाथि पनि पौडेलले प्रश्न उठाए। उनले पार्टीको आधिकारिक संरचनाले मान्यता नदिएको उक्त भेलाबाट पारित निर्णय तथा तयार गरिएका दस्ताबेजलाई नेपाली कांग्रेसका आधिकारिक निर्णय वा दस्ताबेज मान्न नसकिने स्पष्ट पारे।

‘पार्टीले चिन्दै नचिनेको भेलाले गरेका निर्णय पार्टीका कागजात हुन सक्दैनन्,’ पौडेलले भने, ‘त्यो राष्ट्रिय भेलाबाट आएका कुनै पनि दस्ताबेज नेपाली कांग्रेसका दस्ताबेज होइनन्।’

महामन्त्री पौडेलको यो अभिव्यक्तिसँगै कांग्रेसभित्र नेतृत्वको भूमिका, गुटगत गतिविधि र इतर समूहको राष्ट्रिय भेलालाई लिएर जारी विवाद केन्द्रीय समिति बैठकमा थप चर्किएको संकेत देखिएको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com