काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादा’मा बस्न आग्रह गरेकोप्रति प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले आफूले ३७ दिनसम्म धैर्यता र सहनशीलता अपनाएको भन्दै त्यो पनि संसदीय मर्यादाभित्रै पर्ने बताएकी छन्।
उनले पीडितकी श्रीमती र बुवालाई लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय र कहिले काउन्सलरसम्म पुगेर आफूले विषय समाधानका लागि पहल गरेको उल्लेख गरेकी छन्।
‘सभामुखज्यू भन्नुहुन्छ, मर्यादामा बस्नुस्। ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादाभित्र पर्दैन र ?’ उनले प्रश्न गरेकी छन्।
तामाङले सभामुखले भनेका कुरामा मात्रै ‘हस’ भन्दै टाउको हल्लाएर बस्नु आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
‘मर्यादा भनेको सभामुखज्यूले जे भन्नुहुन्छ, हस भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन,’ उनले भनेकी छन्।
आफूले सदनमा जनताको मुद्दामाथि सरकारसँग जवाफ मागेको उनको भनाइ छ। उनले हिजो प्रतिपक्षले बिना कारण सभामुखको आलोचना गर्दा सबैभन्दा अगाडि नियमापत्ति गर्ने आफू नै रहेको स्मरणसमेत गराएकी छन्।
‘आज जनताको मुद्दामाथि काममा ढिलासुस्ती हुँदा सदनमा सभामुखज्यूमार्फत जवाफ मात्र खोजेको हुँ,’ तामाङले भनेकी छन्।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया