काठमाडौं । सरकारले विद्युत् उपभोगमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी सडक आन्दोलनमा उत्रिएको छ ।
कुलमान घिसिङ नेतृत्वको पार्टीले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै बिजुलीको भ्याट हटाउन मागसहित हस्ताक्षर अभियान सुरु गरेको हो ।
उज्यालो नेपाल पार्टीले विद्युत्मा लगाइएको भ्याट खारेज गर्नुका साथै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्नुपर्ने माग अघि सारेको छ ।
पार्टीको चुनाव चिह्न ‘चीम’ बोकेर प्रदर्शनमा उत्रिएका सहभागीले बिजुलीको भ्याट खारेज गर्नुपर्ने, विद्युत् प्राधिकरणले उठाउन बाँकी महसुल असुल गर्नुपर्ने तथा विद्युत् क्षेत्रमा सुरु भएका सुधारका कामलाई निरन्तरता दिनुपर्ने माग राखेका छन् ।
पार्टी अध्यक्ष घिसिङले जनताले विश्वास गरेर पठाएको राजनीतिक शक्तिले सरकारमा पुगेपछि जनताको एजेण्डाबाट विचलित हुन खोजेकाले सरकारलाई खबरदारी गर्न सडकमा उत्रिनुपरेको बताए । ‘जनताको एजेण्डा जोगाउन र ठूला दललाई खबरदारी गर्न ध्यानाकर्षण अभियान सुरु गरेका हौं,’ घिसिङले भने ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहँदा सुरु गरेका विद्युत् क्षेत्रका सुधारका कामलाई निरन्तरता दिन दबाब सिर्जना गर्ने उद्देश्यले पनि आन्दोलनका माग तय गरिएको पार्टीले जनाएको छ ।
कुलमान घिसिङ नेतृत्वको पार्टीले सुरु गरेको आन्दोलनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमलाले समेत ऐक्यबद्धता जनाएका छन् ।
माइतीघर मण्डलामा पुगेर राउत र धमलाले बिजुलीको भ्याट खारेज गर्न माग गरिएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका थिए । कुलमान घिसिङलाई केन्द्रमा राखेर वैकल्पिक राजनीतिक धार निर्माण गर्ने चर्चा चलिरहेका बेला राउत र धमलाको उपस्थितिलाई प्रदर्शनस्थलमा राजनीतिक रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको थियो ।
जनमत पार्टीका अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत आवश्यकतामा कर लगाएर सरकारले जनतालाई थप सास्ती दिएको आरोप लगाए । ‘जुनसुकै सरकार आए पनि शिक्षा, स्वास्थ्य र विद्युत्मा सहुलियत दिने वाचा गर्थे,’ उनले भने, ‘तर यो सरकारले तिनै आधारभूत कुरामा कर थोपरेको छ ।’
विद्युत्मा कर बढ्दा होटल, स्टुडियो, सैलुनदेखि विद्युतीय सवारीसाधन चार्ज गर्ने क्षेत्रसम्म महँगी बढेको उनको दाबी थियो । हिजो ७ सयदेखि ८ सय रुपैयाँ आउने विद्युत् महसुल अहिले एक हजार रुपैयाँभन्दा बढी पुग्न थालेको भन्दै उनले सरकार जनभावनाअनुसार नचलेको आरोप लगाए ।
नेपालले विद्युत् उत्पादन र निर्यातको चर्चा गरिरहेको अवस्थामा आफ्नै नागरिकले विद्युत् खपत गर्दा थप कर तिर्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको राउतको भनाइ थियो ।
लोडसेडिङ अन्त्य गरेर क्षमता प्रमाणित भइसकेका व्यक्तिहरू हुँदाहुँदै र ठूलो परिमाणमा विद्युत् खेर गइरहेको अवस्थामा पनि सरकारले व्यवस्थापन गर्न नसक्नु असक्षमता भएको उनले टिप्पणी गरे ।
सरकारले विद्युत्मा लगाएको भ्याट फिर्ता नलिए नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने चेतावनीसमेत उनले दिए ।
प्रदर्शनका क्रममा राउतले देशको समग्र अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै जनताले ग्यास, राहदानी र अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । प्रधानमन्त्रीको कार्यशैली’bout टिप्पणी गर्दै उनले प्रधानमन्त्रीलाई आफ्नै दल, कर्मचारी संयन्त्र र सल्लाहकारबाट अपेक्षित सहयोग नभएको र सरकारभित्र तालमेल मिल्न नसकेको दाबी गरे ।
उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियानलाई देशव्यापी बनाउँदै विद्युत्मा लगाइएको भ्याट खारेज गर्न सरकारमाथि दबाब बढाउने जनाएको छ ।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया