काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको उनको दाबी छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै साम्पाङले सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने बताए। जनताले उठाएका प्रश्न र समस्याको जवाफ सरकारले संसद्मार्फत दिनुपर्ने उनको भनाइ थियो।
‘सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ। प्रधानमन्त्रीज्यू आएर जनताको प्रश्नको दफावार उत्तर दिनुपर्छ,’ उनले भने, ‘प्रश्नको उत्तर उहाँले दिनैपर्छ।’
साम्पाङले सीमा सुरक्षा, शान्ति–सुव्यवस्था, अत्यावश्यक वस्तुको आपूर्ति, रोजगारी सिर्जना, बजार व्यवस्थापन तथा महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार कमजोर देखिएको आरोप लगाए।
“प्रधानमन्त्री सीमा रक्षा गर्न नसक्ने, गृहमन्त्रीले सुरक्षा र शान्ति सुव्यवस्था दिन नसक्ने, आपूर्ति मन्त्रीले ग्यास र मल दिन नसक्ने, श्रम तथा रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने, अर्थमन्त्रीले बजार व्यवस्थापन र महँगी नियन्त्रण गर्न नसक्ने अवस्था छ,” उनले भने।
सरकारले सहकारी पीडितको समस्या समाधान गर्न नसकेको तथा न्यायालय र स्वास्थ्य सेवासमेत प्रभावकारी बन्न नसकेको साम्पाङको भनाइ छ। सहकारीमा बचत गरेको रकम फिर्ता नपाएका नागरिक अझै पीडित अवस्थामा रहेको उल्लेख गर्दै उनले न्याय र उपचारको पहुँचसमेत सहज हुन नसकेको बताए।
“सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,” उनले भने।
सांसद साम्पाङले सुनसरीको रामधुनी–७ मा रहेको ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको भनिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घटनाको छानबिन गरी स्थानीय बासिन्दालाई न्याय दिलाउनुपर्ने माग गरे।
त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको विषयसमेत उनले संसद्मा उठाए। बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने उनको माग छ।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया