विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी भदौ ५ गते शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्री कार्कीनिकट नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीका अनुसार सत्ता समीकरण परिवर्तन भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

उनका अनुसार नेपाली कांग्रेसले औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन। तर, नयाँ सत्ता साझेदारका रूपमा नेकपा सरकारमा सहभागी भइसकेकाले संवैधानिक तथा नैतिक आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

‘नेपाली कांग्रेसले अहिलेसम्म समर्थन फिर्ता लिइसकेको छैन, तर नेकपा सरकारमा सहभागी भइसकेकाले नैतिकताका आधारमा मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुनेछ,’ भण्डारीले भने।

सोमबार नयाँ मन्त्रीहरूलाई शपथ गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले छिट्टै विश्वासको मत लिने बताएका थिए।

यता, सरकारलाई समर्थन दिँदै आएको नेपाली कांग्रेसले भने समर्थन कायमै राख्ने वा फिर्ता लिने विषयमा औपचारिक निर्णय गरिसकेको छैन। कोशी प्रदेश कांग्रेस संसदीय दलको बुधबार बस्ने बैठकले यसबारे निर्णय गर्ने संसदीय दलका नेता उद्धव थापाले बताए।

थापाका अनुसार मुख्यमन्त्री कार्कीले कांग्रेससँग विश्वासको मतका लागि आग्रहसमेत गरिसकेका छन्। उनले विगतमा प्रतिनिधिसभामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा बसेको उदाहरण दिँदै कोशीमा पनि त्यस्तै अवस्था आउन सक्ने संकेत गरे।

‘यस अगाडि प्रतिनिधिसभामा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेर पनि कांग्रेस प्रमुख प्रतिपक्षी भएर बसेको नजिर छ, कोशीमा पनि त्यस्तै अवस्था आउन सक्छ,’ थापाले भने।

तर, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने बुधबारको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताएका छन्।

अर्कोतर्फ, सत्ता साझेदार नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा मंगलबार नै छलफल हुने जानकारी दिएका छन्।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

गत साउन ९ गते एमाले र नेकपाबीच कोशी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेकपा सोमबार प्रदेश सरकारमा सहभागी भइसकेको छ। सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कार्कीले प्रदेशसभामा आफ्नो पक्षमा बहुमत परीक्षण गर्न लागेका हुन्।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com