काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले इमानदार करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले अघि बढाएको चिट्ठा कार्यक्रमको प्रशंसा गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले अर्थ मन्त्रालयले करदातालाई कर तिर्न तथा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रम सकारात्मक रहेको बताए। उनका अनुसार हालसम्म ३३ जना नागरिकले उक्त कार्यक्रममार्फत पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।

उनले आम नागरिकलाई १०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गरे। सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्नसमेत उनले आह्वान गरे।

‘म सभामुखमार्फत सम्पूर्ण आम नागरिकलाई अपिल गर्न चाहन्छु कि १०० रुपैयाँभन्दा बढीको सामान किन्दा अनिवार्य बिल लिऊँ। सबभन्दा राम्रो अनलाइन पेमेन्ट गरौँ,’ प्रसाईंले भने।

उनले कर तिर्ने संस्कृतिलाई प्रोत्साहित गर्दा नागरिक स्वयंलाई समेत प्रत्यक्ष लाभ पुग्न सक्ने बताए।

‘आज १०० रुपैयाँको सामान किन्दा झ्याम्मै १० लाखको चिट्ठा पर्‍यो भने त बिजोक रमाइलो भएन ? तपाईं र मेरो करबाटै देश चल्ने हो,’ उनले भने।

सांसद रमेश प्रसाईंले समाजमा सकारात्मकभन्दा नकारात्मक विषय छिटो फैलिने प्रवृत्ति रहेको भन्दै राम्रा कामहरू ओझेलमा पर्ने गरेको पनि बताए। नकारात्मक सामग्रीले सामाजिक सञ्जालमा बढी चर्चा र भ्युज पाउने भएकाले सकारात्मक पहल तथा इमानदार प्रयासले पर्याप्त स्थान नपाउने उनको भनाइ थियो।

उनले सरकारले अघि सारेका सकारात्मक कार्यक्रमबारे नागरिकलाई जानकारी गराउँदै कर प्रणालीमा सहभागिता बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com