काठमाडौं । पत्रकार किशोर श्रेष्ठले आफूलाई पुनः पक्राउ गर्न सक्ने आशंका व्यक्त गर्दै पक्राउबाट संरक्षण मागेर उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका छन्।
श्रेष्ठ मंगलबार दिउँसो उच्च अदालत पाटन पुगेका हुन्। उपसभामुख रुवी ठाकुरले सोमबार ललितपुर प्रहरीमा दिएको जाहेरीका आधारमा आफूलाई पुनः पक्राउ गर्न सक्ने आशंका रहेको भन्दै उनले अदालतको शरण लिएका हुन्।
श्रेष्ठले दायर गरेको निवेदनमा आफूविरुद्ध धरपकड नगर्न तथा आफ्ना सञ्चार उपकरण बरामद नगर्न आदेश जारी गर्न माग गरिएको छ।
उनी सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि हिरासतबाट रिहा भएका थिए। सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएपछि श्रेष्ठ रिहा भएका थिए।
रिहा भएको एक दिनपछि नै आफूविरुद्ध परेको जाहेरीका आधारमा पुनः पक्राउ हुन सक्ने भन्दै श्रेष्ठ उच्च अदालत पुगेका हुन्। अब उनको निवेदनमाथि अदालतले प्रारम्भिक सुनुवाइपछि आवश्यक आदेश दिनेछ।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया