काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र (बालेन) शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, दुई देशका सुरक्षा निकायबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।
नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।
यसै क्रममा सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो। उक्त भेटमा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा सुरक्षा सहकार्यका विषयमा छलफल भएको थियो।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया