काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति तथा निर्णय नगर्न चेतावनी दिएका छन्।
मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्ति र नेपाली कांग्रेसको इतर समूहले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्।
कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलाको समापनका क्रममा आफू हिन्दु भएको अभिव्यक्ति दिएका थिए। उक्त भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षमा हुने गरी पाँचबुँदे निर्णयसमेत गरेको थियो।
सोही विषयतर्फ संकेत गर्दै प्रचण्डले संविधानविरोधी गतिविधि र अभिव्यक्ति नदिन देउवालाई सचेत गराएको पार्टी नेता हिमाल शर्माले जानकारी दिए।
बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’
प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र विद्यमान व्यवस्थाको मर्मविपरीत अघि बढिरहेको आरोपसमेत लगाए। सरकार गठनपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गरी आलोचनात्मक आवाज दबाउने प्रयास भइरहेको उनको दाबी छ।
उनले सरकारका गतिविधिविरुद्ध अब पार्टीले आन्दोलनको बाटो लिनुपर्ने संकेत गर्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे।
‘रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढे, हामीले आवश्यकताभन्दा बढी प्रिभिलेज दियौँ। भ्रष्टाचार बढ्दै गयो, मिडियाको मुख थुन्ने काम भयो,’ प्रचण्डले भने, ‘यसका विरुद्ध अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ। हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्।’
यसैबीच, नेकपा एमालेसँग भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनाएको भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको प्रचण्डले स्पष्ट पारे।
एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रवृत्तिमा परिवर्तन नआएसम्म पार्टी एकता सम्भव नहुने उनको भनाइ थियो। दीर्घकालीन रूपमा भने वामपन्थी एकताको पक्षमा आफूहरू रहेको उनले बताए।
‘एमालेसँग भएको तीनबुँदे सहमतिले सहकार्यको ढोका खुलेको छ। तर, उहाँ (ओली) को प्रवृत्ति नहटेसम्म एकता हुँदैन,’ प्रचण्डले भने, ‘हामी दीर्घकालीन रूपमा एकता गर्ने पक्षमै छौँ। कसैलाई मन परे पनि नपरे पनि अहिलेलाई सहमति कार्यान्वयन गरेर जानुको विकल्प छैन।’
बैठकमा पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुक गम्भीर मोडमा पुगेको भन्दै लोकतान्त्रिक–गणतन्त्र पक्षधर सबै शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
उनले एमालेसँग भएको तीनबुँदे सहमतिकै आधारमा तत्काल पार्टी एकता भइहाल्ने भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरे।
त्यस्तै, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसहितको बृहत् वामपन्थी एकताका लागि नेकपाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले वामपन्थी शक्तिबीच सहकार्य, एकता र ध्रुवीकरणका लागि सकारात्मक वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरे।
बैठकमा बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले पार्टीको संगठनात्मक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। विभिन्न वामपन्थी घटकबीचको एकीकरणपछि संगठन ठूलो र अव्यवस्थित बनेको उल्लेख गर्दै उनले आगामी अधिवेशनबाट चुस्त, व्यवस्थित र प्रभावकारी संगठन निर्माण गर्नुपर्ने सुझाव दिएका थिए।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया