धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशसभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन्।
बुधबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले कुनै प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित व्यक्तिसँग आवश्यक सोधपुछ गरी आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने बताए। प्राकृतिक न्यायको सिद्धान्तअनुसार सुनुवाइको अवसर नै नदिई गरिएको निर्णय उचित नहुने उनको भनाइ छ।
‘माननीय प्रकाश देउवालाई एक्कासि बर्खास्त गर्ने निर्णय सभामुखबाट भएको छ। यसको पछाडिको नियत के हो भन्ने कुरा सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्छ,’ शाहले भने।
अमेरिकामा रहेका प्रदेशसभा सदस्य देउवा करिब ११ महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। लामो समयदेखि अनुपस्थित रहेपछि सचिवालयले उनको पद रिक्तसम्बन्धी टिप्पणी आदेश तयार गरेको थियो। उक्त आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि मंगलबार देउवा पदमुक्त भएका थिए।
प्रदेशसभा सचिवालयका अनुसार पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि संविधानमा रहेको व्यवस्थाअनुसार देउवालाई पदमुक्त गरिएको हो।
तर, शाहले देउवाले आफू अनुपस्थित रहेको विषयमा जानकारी गराइसकेको अवस्थामा समेत सभामुखले एकपटक पनि आवश्यक सोधखोज नगरी पदमुक्त गर्नु उचित नभएको दाबी गरे।
उनले सभामुखको निर्णय निष्पक्ष नभएको आरोप लगाउँदै प्रदेशसभाको अंकगणित वा दलीय स्वार्थका आधारमा निर्णय गर्न नहुने बताए।
सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिँदै शाहले सभामुखबाट हुने गतिविधिमाथि आफूहरूले निरन्तर निगरानी राख्ने र गलत निर्णयको विरोध गर्ने चेतावनीसमेत दिए।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया