काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पौडेलले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
वरिष्ठ नाक, कान तथा घाँटी (ईएनटी) विशेषज्ञ डा. पौडेल हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।
चिकित्सा क्षेत्रमा लामो अनुभव हासिल गरेका पौडेलले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।
उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस तहको अध्ययन गोल्ड मेडलसहित पूरा गरेका हुन्। यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए।
डा. पौडेलले नेपाल मेडिकल काउन्सिलमै समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनी काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा काम गरिसकेका व्यक्ति हुन्।
नवनियुक्त अध्यक्ष पौडेलको कार्यकालमा चिकित्सकीय अभ्यासको नियमन, व्यावसायिक आचारसंहिता तथा चिकित्सा शिक्षासम्बन्धी विषयमा काउन्सिलको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया