गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई राष्ट्रपति बन्ने कुनै इच्छा वा लोभ नरहेको स्पष्ट पारेका छन्।
गृहजिल्ला गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफू कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेको व्यक्ति भएकाले अहिले राष्ट्रपतिको पदप्रति आकर्षित हुनुपर्ने कुनै कारण नरहेको बताए।
नयाँ पुस्ताको राजनीतिलाई आफूले समर्थन गर्दा ‘भट्टराई फेरि नयाँ शक्तितिर लागे, राष्ट्रपति बन्न खोजेका हुन्’ भन्ने टिप्पणी हुने गरेको उल्लेख गर्दै उनले त्यस्ता आरोपको खण्डन गरे।
‘अहिलेको प्रणालीमा राष्ट्रपति त खोपीको देउताजस्तो हो। म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमा छु,’ उनले भने।
भट्टराईले आफूले कुनै राजनीतिक विषयमा धारणा राख्दैमा त्यससँग जोडिएको पदको आकांक्षा राखेको अर्थ लगाउन नहुने बताए। विचार प्रस्तुत गर्नु र पद खोज्नु फरक विषय भएको उनको भनाइ थियो।
‘राष्ट्रपतिमा लोभ गर्ने कुरा पनि होइन। कार्यकारी प्रधानमन्त्री भइसकेको मान्छेले राष्ट्रपतिमा लोभ गर्ने कुरा हुँदैन। मैले त विचार दिने हो। मैले विचार दिएका आधारमा पद खोज्यो भनेर बुझ्ने सोचभन्दा माथि उठ्नुपर्छ,’ उनले भने।
आफूले विगतमा विभिन्न विषयमा धारणा राख्दा त्यसलाई पदसँग जोडेर आलोचना गरिएको प्रसंगसमेत भट्टराईले स्मरण गरे। आफूले कुनै विषयमा विचार राख्दा कहिले मेयर बन्न खोजेको, कहिले पुनर्निर्माण प्राधिकरणको प्रमुख र कहिले बूढीगण्डकी आयोजना प्रमुख बन्न खोजेको आरोप लगाइएको उनले बताए।
‘कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ,’ भट्टराईले भने।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया