काठमाडौं । नेपाली सेनाका नवनियुक्त उपरथी र प्राविधिक महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका दुई सैनिक अधिकारीलाई नयाँ दर्जाअनुसारको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
गत साउन २६ गतेको निर्णयअनुसार उपरथी पदमा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई प्रधान सेनापति सिग्देलले उपरथीको दर्ज्यानी चिन्ह लगाइदिएका थिए।
त्यस्तै, प्राविधिक महासेनानी पदमा पदोन्नति भएकी प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई पनि सोही समारोहमा महासेनानीको दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा सेनाका बलाधिकृत, रथी तथा अन्य उच्च सैनिक अधिकृतहरूको उपस्थिति थियो। पदोन्नति भएका अधिकारीका परिवारजनको समेत सहभागितामा समारोह सम्पन्न भएको सेनाले जनाएको छ।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया