काठमाडौं । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले वर्तमान सरकारको कार्यशैली र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि संसद्मा तीव्र व्यङ्ग्य गरेका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै पोर्तेलले सरकारको कार्यसम्पादन कमजोर हुँदा जनताले दैनिक जीवनमै सास्ती भोग्नुपरेको दाबी गरे। उनले सरकारका कारण मुलुकका आर्थिक सूचकाङ्कसमेत नकारात्मक दिशातर्फ गएको आरोप लगाए।

रास्वपाको निर्वाचनबाट भएको उदयलाई चर्चित हिन्दी गीत ‘उपरवाला जब भी देता, देता छप्पर फाड के’ सँग तुलना गर्दै पोर्तेलले पार्टीको राजनीतिक प्रदर्शनप्रति व्यङ्ग्य गरे।

“अरू बेला २–३ मिनेट बोल्न पाउने, आज १५ मिनेट पाएँ, मलाई रास्वपाको जस्तै लाग्यो,” उनले भने, “उहाँहरूले १८२ सिट ल्याए, १०० वटा काम गर्छु भन्नुभएको थियो। तर जनताले मूल्याङ्कनमा ‘डी’ ग्रेड मात्र दिएका छन्।”

सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न नसक्दा सर्वसाधारण थप समस्यामा परेको उनको आरोप थियो। ग्यास तथा दाउरासमेत सहज रूपमा उपलब्ध हुन नसकेको भन्दै उनले सरकारको आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठाए।

सरकारले इन्डक्सन चुलो प्रयोगलाई प्रोत्साहन गरे पनि नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नसकेको पोर्तेलको आरोप थियो।

सरकारको अवस्थामाथि कटाक्ष गर्दै उनले भने, “चन्द्रमाबाट हेर्दा चीनको ग्रेट वाल देखिन्थ्यो रे, अहिले त नेपालको ग्यासको लाइन पनि देखिन थाल्यो रे।”

पोर्तेलले सरकारका घोषणा र वास्तविक कार्यसम्पादनबीच ठूलो अन्तर देखिएको भन्दै जनताका आधारभूत समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com