काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार विधानलाई समयानुकूल परिमार्जन गर्न कार्यदललाई सात दिनको समयसीमा दिइएको छ।

कार्यदलले तयार पार्ने प्रस्तावले सांसदहरूको संसद् उपस्थितिलाई व्यवस्थित गर्नुका साथै संसदीय मर्यादा, जिम्मेवारीबोध तथा कानुन निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकमा सरकारका कामकारबाही र विभिन्न मन्त्रालयको प्रगतिबारे पनि विस्तृत समीक्षा गरिएको थियो।

बैठकमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भएका काम, प्रगति तथा गतिविधिबारे जानकारी गराएका थिए। त्यसैगरी सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्या र जनस्तरबाट प्राप्त गुनासाहरू बैठकमा राखेका थिए।

बैठकमा सरकारले गरेका काम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन देखिएका समस्या तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयमा देखिएका कमजोरीबारे समेत समीक्षा भएको थियो।

सांसदहरूले सरकारको कार्यशैलीमा सुधार आवश्यक रहेको भन्दै आफ्नै सरकार भए पनि जिम्मेवार व्यक्ति तथा सम्बन्धित निकायसँग भेटघाट र समन्वय गर्न कठिनाइ भइरहेको गुनासो गरेका थिए।

बैठकमा बजारमा एलपी ग्यासको आपूर्ति बढेको भनिए पनि उपभोक्ताले अभाव झेल्नुपरेको विषयमा समेत छलफल भएको उपनेता पराजुलीले बताए।

उनका अनुसार वैशाखमा करिब २२ लाख सिलिन्डर ग्यास बजारमा पुगेकोमा साउनमा उक्त संख्या बढेर करिब ४० लाख पुगेको थियो। यति ठूलो परिमाणमा ग्यास बजारमा पठाउँदा पनि अभाव देखिनुको कारणबारे बैठकमा मन्त्रीहरूले जानकारी दिएका थिए।

‘गत वैशाखमा २२ लाख सिलिन्डर बजारमा पुगेकोमा साउन महिनामा ४० लाख पुग्दा पनि किन अभाव देखियो भन्ने विषयमा माननीय मन्त्रीज्यूहरूले जानकारी गराइरहनुभएको छ,’ पराजुलीले भने।

रास्वपाले संसदीय दलको विधान संशोधनसँगै सांसदहरूको भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाउने तथा सरकारका कामकारबाहीमा देखिएका कमजोरी सुधार गर्दै जनताका गुनासा सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com