काठमाडौं । वर्षायाममा उत्पादन भएर खेर जाने विद्युत्को आन्तरिक खपत बढाउन सरकारले बिजुलीको महसुल घटाउने तयारी अघि बढाएको छ। यसका लागि ‘सिजनल ट्यारिफ’ लागू गरी वर्षायाममा आम उपभोक्ता तथा उद्योगलाई तुलनात्मक रूपमा सस्तो दरमा विद्युत् उपलब्ध गराउने गृहकार्य भइरहेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणले गत साउन १३ गते विद्युत् महसुल पुनरावलोकनका लागि समिति गठन गरेको थियो।

प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दै छ। बैठकमा विद्युत् महसुल घटाउने व्यावहारिक उपाय तथा सिजनल ट्यारिफको सम्भावित ढाँचाबारे छलफल हुने जनाइएको छ।

समितिमा ऊर्जा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसहित ऊर्जाविद्, उपभोक्ता अधिकारकर्मी तथा वित्त क्षेत्रका विज्ञ सदस्य छन्।

वर्षायाममा विद्युत् उत्पादन बढे पनि आन्तरिक खपत पर्याप्त नहुँदा ठूलो परिमाणमा बिजुली खेर जाने गरेको छ। यसबाट नेपाल विद्युत् प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ बराबरको आम्दानी गुमाउनुपरेको अवस्था छ।

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले वर्षायाममा विद्युत्को महसुल घटाएर खपत बढाउने रणनीति अघि सारेको हो।

समिति संयोजक शाहीका अनुसार उद्योगलाई वर्षायाममा सहुलियत दरमा विद्युत् उपलब्ध गराउँदा त्यसको लाभ अन्ततः उपभोक्तासम्म पुग्ने गरी व्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको छ।

‘सिजनल ट्यारिफमार्फत बिजुलीको पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दै छ,’ शाहीले भने, ‘उद्योगलाई वर्षायाममा सस्तो बिजुली दिँदा उनीहरूले आफ्ना उत्पादनमा उपभोक्तालाई कति सहुलियत दिन सक्छन् भन्नेबारे पनि छलफल भएको छ। हामी छिट्टै निर्णयमा पुग्छौँ।’

सरकारले विद्युत्को आन्तरिक खपत बढाउने उद्देश्यले उद्योग, व्यवसाय तथा घरायसी उपभोक्तालाई वर्षायाममा सहुलियत दिने सम्भावनाबारे अध्ययन गरिरहेको हो।

यसअघि विद्युत्मा कर बढाइएको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने खेर जाने बिजुलीको सदुपयोगसँगै उपभोक्ता र उद्योगीलाई समेत राहत पुग्ने गरी महसुल पुनरावलोकनको प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com