काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले सरकारलाई ‘चिट्ठामा रमाउने’ भन्दै गरेको टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आपत्ति जनाएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खातुनले सरकार गठन भएको सय दिन बितिसकेको उल्लेख गर्दै अबसम्मका कामको सय बुँदामै समीक्षा गर्नुपर्ने बताइन्। प्रतिपक्षको हैसियतमा आफ्नो भूमिका सरकारलाई निरन्तर खबरदारी गर्नु रहेको उनको भनाइ थियो।
सांसद खातुनले सरकारको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै भनिन्, ‘चिट्ठामा रमाउने सरकार अब त आँखा खोल । जनताको पीडा बुझ, चमेली बन।’
उनको अभिव्यक्तिपछि रास्वपा सांसद तामाङले उठेर आपत्ति जनाइन्। आफूहरूलाई ‘चिट्ठामा परेको सांसद’ भनेर टिप्पणी गरिएको भन्दै उनले त्यसको प्रमाण माग गरिन्।
‘हामीहरू चिट्ठामा परेको भन्नुभयो । उहाँले प्रुफ दिनुपर्यो । जनताले जिताएर आएको कि चिट्ठामा परेको, उहाँले प्रुफसहित भन्नुपर्यो,’ तामाङले भनिन्।
आफूहरू पनि अन्य सांसदसरह जनताको मतबाट निर्वाचित भएर आएको दाबी गर्दै उनले एमाले सांसद खातुनको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरिन्।
त्यसपछि एमालेकी सांसद विष्णुमाया विकले सदनमा आफूहरूले उठाएको विषय व्यक्तिगत नभएको स्पष्ट पारिन्। संविधानले दिएको अधिकारअनुसार जनताका आवाज संसद्मा निर्भीक रूपमा राख्न पाउनुपर्ने उनको भनाइ थियो।
सांसद विकले सत्तापक्षले आवश्यकताभन्दा बढी ‘नियमापत्ति’ उठाएर प्रतिपक्षको आवाज रोक्न खोजेको आरोप लगाउँदै नियमापत्ति गर्दा विषय र प्रक्रियामा ध्यान दिन आग्रह गरिन्।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया