काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको ‘एक्लै लडिरहेको छु’ भन्ने स्टाटसलाई राजनीतिक अर्थमा बुझ्न आवश्यक नरहेको बताएका छन्।
बुधबार रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले उनका हरेक अभिव्यक्तिलाई राजनीतिक सन्देशका रूपमा व्याख्या गर्न नहुने बताए।
उनले सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो। यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन। यहाँ पार्टी सिंगै उभिएको छ, उहाँ कहाँ एक्लो हुनुहुन्छ ?’
लामिछानेले आफू र प्रधानमन्त्री शाहबीच कुनै मतभेद नरहेको पनि स्पष्ट पारे। पछिल्लो समय प्रधानमन्त्री र आफूबीच दूरी बढेको तथा मतभेद उत्पन्न भएको भन्दै सार्वजनिक भएका समाचारप्रति उनले असन्तुष्टि जनाए।
‘हामीबीच मतभेद बढेको भनेर समाचार आइरहन्छ। त्यसले हामीलाई थप नजिक ल्याएको छ,’ लामिछानेले भने।
उनले सरकार र पार्टी नेतृत्वबीच सहकार्य र समन्वय निरन्तर रहेको दाबी गर्दै प्रधानमन्त्री शाहको सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर अनावश्यक राजनीतिक अर्थ नखोज्न आग्रह गरे।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया