काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ।

महाराजगञ्जस्थित डा. शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि तीन दिनसम्म चलेको इतर समूहका शीर्ष नेताहरूको अनौपचारिक छलफलले महाधिवेशनको कार्यतालिका रोक्न कानुनी बाटो रोज्ने निर्णय गरेको हो।

इतर समूहका नेता एनपी साउदले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरिने जानकारी दिए। प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले पनि महाधिवेशन स्थगनको मागसहित अदालत जाने निर्णय भएको बताए।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिइसकेको अवस्थामा त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने इतर समूहको दाबी छ।

यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए। सोही मुद्दामा सर्वोच्चले पुनरवलोकनको अनुमति दिएको थियो।

इतर समूहले निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको डिभिजन बेञ्चको फैसलामाथि पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले पार्टीको आन्तरिक वैधानिकताको विषय पुनः विचाराधीन अवस्थामा पुगेको तर्क गरेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई नै सर्वोच्चले पुनरवलोकनको अनुमति दिएपछि त्यसै समितिले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नमिल्ने इतर समूहको निष्कर्ष छ। यही आधारमा महाधिवेशनका आगामी प्रक्रिया रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च जाने तयारी गरिएको विश्वकर्माले बताए।

यसैबीच, कांग्रेसको निर्वाचन समितिले मंगलबार १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार आगामी भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ भने केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने तयारी छ।

अब संस्थापन इतर समूहले महाधिवेशन प्रक्रिया रोक्न अदालतमा दायर गर्ने रिटमा सर्वोच्चको निर्णयसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका अघि बढ्ने वा रोकिने विषय टुंगो लाग्नेछ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com