काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकले तत्काल अर्को राजनीतिक प्रयोग वा ‘एड्भेन्चर’ धान्न सक्ने अवस्था नरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारलाई प्राप्त जनादेशअनुसार काम गर्ने पर्याप्त अवसर दिनुपर्ने धारणा राखे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताबाट पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट लिएर आएकाले उसलाई सोही अवधिसम्म काम गरेर देखाउने अवसर दिनुपर्ने बताए। पाँच वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी आफूहरू तयारीमा जुटिरहेको उनको भनाइ थियो।

थापाले विगतमा कांग्रेस र एमालेले प्राप्त बहुमत तथा जनादेशलाई मात्रै पर्याप्त ठानेर जनताको असन्तुष्टिलाई बेवास्ता गरेको परिणाम भोग्नुपरेको उल्लेख गर्दै वर्तमान सरकारलाई पनि संख्याको बलमा मात्रै अघि नबढ्न सुझाव दिए।

‘हामीले विगतमा आफूहरूसँग भएको शक्ति र प्रतिष्ठालाई मात्रै हेर्‍यौँ। त्यसले हामीलाई सही ठाउँमा पुर्‍याएन। हामीले त्यसबाट सिकेका छौँ र आफूलाई सच्याएर अघि बढ्न चाहन्छौँ,’ उनले भने।

दुई तिहाइ बहुमत हुँदैमा राजनीतिक शक्ति बलियो नहुने भन्दै थापाले निरन्तर जनसमर्थन, जनविश्वास र नैतिक नेतृत्व कायम राख्नुपर्ने बताए। सरकारमा पुगेपछि आफूलाई मत दिने र नदिने दुवै पक्षका नागरिकको विश्वास जित्ने जिम्मेवारी हुने उनको भनाइ थियो।

नयाँ राजनीतिक शक्तिलाई विगतका दलले भोगेको संकटबाट पाठ सिक्न आग्रह गर्दै थापाले नेपाललाई थप राजनीतिक प्रयोगको अवस्थामा लैजान नहुने बताए।

‘नयाँ साथीहरूले पनि हामीले भोगेको कुरा फेरि किन भोग्नुहुन्छ ? कम्तीमा अब नेपालमा कुनै नयाँ राजनीतिक एड्भेन्चर नगर्नुहोस्, नेपालले थेग्न सक्दैन,’ उनले भने।

सभापति थापाले संसद्को गरिमा र सांसदहरूको भूमिकाप्रति पनि गम्भीर प्रश्न उठाए। निर्वाचित भएर संसद् प्रवेश गरेपछि मन लागेका कुरा जथाभावी बोल्ने छुट सांसदलाई नरहेको उनको भनाइ थियो।

‘मैले जे बोले पनि हुन्छ ? मैले जे फुके पनि हुन्छ ? यो संसद् हो, संसद्को गरिमा र मर्यादा हुँदैन ?’ उनले प्रश्न गरे।

संसद्, सरकार, अदालत तथा संवैधानिक निकायमा जिम्मेवारी पाएका व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा कानुनी सीमासँगै जनभावना र नैतिक औचित्यलाई पनि ध्यान दिनुपर्ने थापाले बताए।

कतिपय निर्णय कानुनसम्मत भए पनि जनभावनाविपरीत हुन सक्ने उल्लेख गर्दै उनले कानुनी वैधतासँगै सामाजिक र नैतिक वैधता पनि लोकतन्त्रका लागि उत्तिकै महत्त्वपूर्ण हुने धारणा राखे।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com