काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेशका सांसद तथा संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति असहमति जनाएका छन्।

बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कमल थापाले उद्धव थापामाथिको कारबाही पार्टीको विधि, विधान र पद्धतिअनुसार नभएको दाबी गरे।

उनका अनुसार कारबाही गर्नुअघि विगतका घटनाक्रम, कमजोरी र त्रुटिको निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेका थिए। तर, उक्त प्रस्तावलाई बेवास्ता गर्दै बैठकले पूर्वतयारीसहित उद्धव थापामाथि कारबाही गर्ने निर्णय गरेको उनको आरोप छ।

‘विगतका त्रुटि र कमजोरीसमेत अध्ययन गरेर निष्पक्ष समिति गठन गरौँ र त्यसको प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरौँ भनेर हामीले आग्रह गरेका थियौँ,’ कमल थापाले भने, ‘तर केही साथीहरू पहिल्यै तयारी गरेर आउनुभएको रहेछ। उहाँहरूले बागमती प्रदेश संसदीय दलका नेतालाई कारबाही गर्ने निर्णय जबरजस्ती गर्नुभयो।’

उक्त निर्णयप्रति आफू लगायत केही नेताले लिखित रूपमै फरक मत राखेको उनले जानकारी दिए।

‘म लगायत कतिपय साथीहरूले नोट अफ डिसेन्ट राखेका छौँ,’ उनले भने।

कमल थापाले पार्टीभित्र देखिएका विवाद र विगतका घटनाको समग्र अध्ययनका लागि निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिए। पार्टी विधान र विगतको अभ्यासलाई समेत आधार बनाएर मात्र कारबाहीसम्बन्धी निर्णय लिनुपर्ने उनको भनाइ थियो।

बागमती प्रदेश सरकार गठनका क्रममा प्रदेश संसदीय दलले पार्टी केन्द्रको निर्देशनका लागि अन्तिम समयसम्म प्रतीक्षा गरेको दाबी गर्दै उनले केन्द्रबाट स्पष्ट निर्देशन नआएपछि बहुमत सांसदको निर्णयअनुसार प्रदेश तहबाट आवश्यक कदम चालिएको बताए।

पार्टी पहिले नै संकटबाट गुज्रिरहेको अवस्थामा नेतृत्वले हैकमवादी शैलीमा नेता तथा कार्यकर्तामाथि कारबाही गर्दै गए संगठन थप कमजोर हुने चेतावनीसमेत कमल थापाले दिए।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com