काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

चिकित्सा शिक्षा, परीक्षा, नियमन तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. श्रेष्ठ यसअघि पनि नेपाल मेडिकल काउन्सिलसँग विभिन्न जिम्मेवारीमा आबद्ध रहँदै आएका थिए।

डा. श्रेष्ठले भारतको तमिलनाडुस्थित भीएमएस डेन्टल कलेजबाट बीडीएस अध्ययन पूरा गरेका हुन्। त्यसपछि रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजी विषयमा विद्यावारिधि गरेका छन्।

नेपाल मेडिकल काउन्सिलमा उनको लामो कार्यअनुभवसमेत रहेको छ। उनी सन् २०१४ देखि २०१६ सम्म काउन्सिलको पदेन सदस्य तथा सन् २०१९ देखि २०२३ सम्म मनोनीत सदस्यका रूपमा कार्यरत थिए।

काउन्सिलमा सदस्यका रूपमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी विभिन्न समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।

चिकित्सा क्षेत्रको नियमन, चिकित्सक दर्ता तथा परीक्षा, चिकित्सा शिक्षाको गुणस्तर र व्यावसायिक आचारसंहितासम्बन्धी काममा काउन्सिलको महत्वपूर्ण भूमिका रहने भएकाले डा. श्रेष्ठको नियुक्तिलाई उनको पूर्वअनुभवसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com