काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।

पार्टी संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको दाबी गर्दै देउवा र खड्काले त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दिन लागेका हुन्।

देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च अदालत पुगेका छन्।

कांग्रेसको इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले देउवा र खड्काको रिट सर्वोच्चमा पुगेको जानकारी दिए।

रिटमा कांग्रेसले हालै सार्वजनिक गरेको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया तथा कार्यतालिका कार्यान्वयनमा रोक लगाउन उत्प्रेषणको आदेश माग गरिएको छ।

संस्थापन पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी छ। तर, उक्त कार्यतालिका पार्टीका सबै पक्षसँग सहमति नगरी एकपक्षीय रूपमा ल्याइएको आरोप देउवा तथा डा. शेखर कोइराला पक्षले लगाउँदै आएको छ।

केही समयअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा पुनरावलोकनको आदेश दिएको थियो। त्यसपछि पार्टीभित्र महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा विवाद चर्किएको हो।

सर्वोच्चको आदेशपछि संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त संवाद र सहमति नगरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै असन्तुष्ट पक्षले त्यसको विरोध गर्दै आएको छ।

यसैबीच, देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान चुनदेवीमा भेटवार्तासमेत भएको थियो। पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति र महाधिवेशनसम्बन्धी विवादका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com