काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले विद्युतमा सरकारले लगाएको कर हटाउन सुरु गरिएको हस्ताक्षर अभियान देशभित्र मात्र नभई विदेशमा समेत विस्तार भएको बताएका छन्।
शुक्रबार अभियानको पाँचौँ दिन जोरपाटीमा आयोजित हस्ताक्षर संकलन कार्यक्रममा सहभागी हुँदै घिसिङले विभिन्न मुलुकमा रहेका नेपालीहरूले समेत अभियानलाई समर्थन गर्दै हस्ताक्षर संकलन सुरु गरेको जानकारी दिए।
‘यो अभियान देशभित्र मात्रै सीमित छैन, विदेशमा पनि अघि बढिरहेको छ। प्रवासमा रहेका हाम्रा साथीहरूले विभिन्न देशमा हस्ताक्षर अभियान सुरु गर्नुभएको छ,’ उनले भने।
विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गराउन सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको घिसिङले बताए।
उनका अनुसार हस्ताक्षर अभियानमार्फत विद्युतमा लगाइएको करबारे आम नागरिकको धारणा र अभिमतसमेत बुझ्न सकिनेछ। सरकारले जनताको आवाजलाई सम्बोधन गर्दै विद्युतमा लगाइएको कर हटाउनुपर्ने उनको भनाइ छ।
उज्यालो नेपालले विद्युतमा लगाइएको कर हटाउन माग गर्दै देशका विभिन्न स्थानमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ। अभियानमा विदेशमा रहेका नेपालीलाई समेत जोड्दै मागलाई थप व्यापक बनाउने प्रयास भइरहेको पार्टीले जनाएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया