काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या समाधान गर्न काठमाडौँ महानगरपालिकासँग छलफल गरेका छन्।
सञ्चार मन्त्रालयमा शुक्रबार भएको छलफलमा मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा पुग्ने सडकको स्तरोन्नति तथा कालोपत्रका लागि संघीय सरकार र काठमाडौँ महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरी काम अघि बढाउनुपर्ने बताए।
बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीले लामो समयदेखि सडकको दुरवस्था, फोहोरबाट फैलिने दुर्गन्ध तथा फोहोर ढुवानी र विसर्जनमा लापरबाही भइरहेको गुनासो गर्दै आएका छन्। स्थानीयका गुनासा बढेपछि मन्त्री तिमिल्सिनाले काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका हुन्।
स्थानीयका अनुसार फोहोर बोकेका सवारीसाधन नछोपी सञ्चालन गर्ने, बाटोमै फोहोर खस्ने तथा फोहोर विसर्जनपछि सवारीसाधन सफा नगरी उपत्यका फर्काउने समस्या छ। त्यस्तै, फोहोर विसर्जन गरिसकेपछि आवश्यक मात्रामा माटोले छोप्ने ‘क्यापिङ’ नगर्दा दुर्गन्ध फैलिने गरेको उनीहरूको गुनासो छ।
मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा आसपासका बासिन्दाले भोगिरहेका समस्या गम्भीर रहेको बताए।
‘कतिपय क्षेत्रमा सडक कालोपत्र नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको गुनासो आएको छ। फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने बाटो आसपासका स्थानीय वास्तवमै पीडित छन्,’ उनले भने, ‘दुर्गन्ध फैलिएको र विभिन्न रोगको संक्रमणसमेत बढेको गुनासो आएको छ।’
बञ्चरेडाँडाका समस्या दीर्घकालीन रूपमा समाधान गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए। फोहोर विसर्जनपछि समयमा माटोले नछोप्दा दुर्गन्ध फैलिने भएकाले क्यापिङको कामलाई प्रभावकारी र नियमित बनाउनुपर्नेमा उनले जोड दिए।
छलफलमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहबाट समेत फोहोर पुग्ने भए पनि त्यसको व्यवस्थापनमा लाग्ने अधिकांश आर्थिक भार महानगरपालिकाले एक्लै व्यहोर्दै आएको बताइन्।
उनले फोहोर व्यवस्थापनमा सहभागी सबै स्थानीय तहले आर्थिक योगदान गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार स्रोत उपलब्ध हुन नसकेको बताइन्।
‘फोहोर व्यवस्थापनका लागि लाग्ने खर्च सबै पालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए। तर, अहिलेसम्म अधिकांश खर्च काठमाडौँ महानगरपालिकाले मात्रै व्यहोर्दै आएको छ,’ डंगोलले भनिन्, ‘अन्य पालिकाले पनि आर्थिक योगदान गर्ने हो भने स्थानीयका समस्या समाधान गर्न थप सहज हुन्छ।’
डंगोलका अनुसार महानगरपालिकाले फोहोर व्यवस्थापनलाई विकेन्द्रीकृत गर्ने योजना अघि सारे पनि आवश्यक जग्गा प्राप्त गर्न नसक्दा त्यसको कार्यान्वयनमा ढिलाइ भइरहेको छ।
महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउने केन्द्र तथा फोहोर संकलनस्थलका लागि आवश्यक जग्गा खोजिरहेको उनले बताइन्। महानगरलाई सातवटा फोहोर क्लस्टरमा विभाजन गरी सुक्खा फोहोर पुनःप्रयोग तथा पुनर्चक्रण गर्ने योजना अघि सारिएको भए पनि जग्गा प्राप्ति र अन्य प्रक्रियागत काम पूरा हुन नसकेको उनको भनाइ छ।
बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० स्थानीय तहबाट समेत फोहोर ल्याइन्छ। तर, फोहोर व्यवस्थापनको जिम्मेवारी र आर्थिक भारमा ती स्थानीय तहलाई प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको महानगरको भनाइ छ।
छलफलमा बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जाने फोहोरको मात्रा घटाउने, स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने तथा फोहोर संकलन र ढुवानी प्रणालीलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।
नेपाल सरकारले १ हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहोर विसर्जन सुरु गरिएको हो। उक्त ल्याण्डफिल साइट नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया