जापान । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा अनुसन्धान अघि बढाएको छ। मृतकको टाउको, अनुहार, हात तथा शरीरका विभिन्न भागमा चोटपटक भेटिएपछि प्रहरीले घटनालाई हत्या कोणबाट अनुसन्धान गरिरहेको हो।
प्रहरीका अनुसार मृतक लक्ष्मी राजवंशी हुन्। उनी फुकुओकाको चुओ वार्डमा बस्दै आएकी थिइन्। व्यावसायिक विद्यालयमा अध्ययनरत उनी अध्ययनसँगै पार्ट टाइम कामसमेत गर्दै आएकी थिइन्।
अगस्ट १९ बिहान करिब ५ः४५ बजे फुकुओकाको तेन्जिन क्षेत्र हुँदै बग्ने नाका नदीमा एक महिलाको शव पानीमा घोप्टो परेको अवस्थामा एक पैदलयात्रीले देखेका थिए। त्यसपछि प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थल पुगेको थियो।
टोलीले नदीबाट शव बाहिर निकाले पनि घटनास्थलमै महिलाको मृत्यु भइसकेको पुष्टि गरेको थियो।
लक्ष्मीले टी–सर्ट र छोटो पाइन्ट लगाएकी थिइन्। उनको खुट्टामा जुत्ता थिएन भने साथमा कुनै व्यक्तिगत सामानसमेत फेला नपरेको प्रहरीले जनाएको छ।
पोस्टमार्टमपछि हत्या आशङ्का
सुरुमा निधारमा चोट देखिएपछि प्रहरीले दुर्घटना वा अन्य कारणबाट मृत्यु भएको हुन सक्ने कोणबाट अनुसन्धान थालेको थियो। तर पोस्टमार्टमका क्रममा टाउको र अनुहारमा कडा वस्तुले प्रहार गरेको जस्तो देखिने धेरै चोट तथा काटिएका घाउ भेटिए।
शरीर र हातमा समेत चोटपटक देखिएपछि प्रहरीले घटना हत्या हुन सक्ने निष्कर्षसहित अनुसन्धान अघि बढाएको हो। यद्यपि, पोस्टमार्टमबाट उनको मृत्युको निश्चित कारण भने तत्काल खुल्न सकेको छैन।
अनुसन्धानका क्रममा लक्ष्मी बस्दै आएको अपार्टमेन्टमा समेत रगतका दाग फेला परेको प्रहरीले जनाएको छ। अपार्टमेन्टभित्र कसैसँग संघर्ष भएको हुन सक्ने संकेतसमेत भेटिएकाले प्रहरीले उनीमाथि निवासमै आक्रमण भएको हुन सक्ने सम्भावनालाई अनुसन्धानको दायरामा राखेको छ।
प्रहरीका अनुसार लक्ष्मीलाई अगस्ट १८ राति करिब १०ः३० बजे पार्ट टाइम काम सकेर घर फर्किँदै गरेको अवस्थामा एक सहकर्मीले अन्तिम पटक देखेका थिए। त्यसपछि उनीबारे कुनै जानकारी प्राप्त भएको थिएन।
अगस्ट १९ बिहान करिब ३ः१५ बजे एक महिला परिचितले लक्ष्मी घरमा नरहेको भन्दै प्रहरीलाई जानकारी गराएकी थिइन्। त्यसको केही घण्टापछि उनको शव नाका नदीमा फेला परेको थियो।
प्रहरीले कामबाट फर्किएपछि लक्ष्मी कहाँ गइन्, उनी नदीसम्म कसरी पुगिन् र घटनामा को–को संलग्न हुन सक्छन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
लक्ष्मी सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्। फुकुओकाको एक व्यावसायिक विद्यालयमा अध्ययनरत उनी पढाइसँगै पार्ट टाइम काम गर्दै आएकी थिइन्।
उनले अध्ययन गरेको भनिएको व्यावसायिक विद्यालयका प्रतिनिधिले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचान गर्न लक्ष्मीको निवास, नाका नदी आसपासको क्षेत्र तथा मृत्यु हुनुअघिका उनका गतिविधिबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया