काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले तीन वर्षीया बालिकामाथि बलात्कारपछि भएको विभत्स हत्याको घटनाप्रति प्रधानमन्त्रीले संवेदना व्यक्त गर्नुपर्ने बताएकी छन्।
प्रधानमन्त्रीले आफू ‘बोल्न होइन, काम गर्न आएको’ भन्ने अभिव्यक्ति दिँदै संसद् वा सञ्चारमाध्यममा कमै बोल्ने गरेको प्रसंग उल्लेख गर्दै बमले जनताका सबै समस्या प्राविधिक समाधानबाट मात्रै सम्बोधन नहुने बताएकी हुन्।
सामाजिक सञ्जालमार्फत उनले राज्यले पीडितको दुःख र पीडाप्रति संवेदनशीलता देखाउनुपर्नेमा जोड दिएकी छन्।
‘संसदमा बोल्नु हुन्न, अन्तर्वार्ता दिनु हुन्न। “बोल्न होइन, काम गर्न आएको हुँ” भन्नुहुन्छ। तर, प्रधानमन्त्रीज्यू, जनताका समस्या प्राविधिक मात्रै हुँदैनन्। जनताका केही घाउ यस्ता हुन्छन्, जसमा संवेदनाको मल्हम लगाउनुपर्छ,’ उनले भनेकी छन्।
तीन वर्षीया बालिकामाथि बलात्कारपछि भएको निर्मम हत्याले समाजलाई स्तब्ध बनाएको भन्दै बमले यस्तो अवस्थामा प्रधानमन्त्रीले पीडित परिवारप्रति दुई शब्द संवेदना व्यक्त गर्नु स्वाभाविक भएको बताइन्।
उनका अनुसार पीडित परिवारलाई दोषीमाथि कानुनी कारबाही र न्यायको सुनिश्चिततासँगै राज्य आफ्नो पीडामा साथमा छ भन्ने अनुभूति पनि आवश्यक हुन्छ।
‘तीन वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भएको छ। यस्तो बेला देशको प्रधानमन्त्रीले दुई शब्द संवेदना व्यक्त गरिदिँदा के बिग्रिन्छ?’ उनले प्रश्न गरेकी छन्, ‘पीडित परिवारलाई न्यायका साथसाथै राज्यले आफ्नो दुःख देखेको छ भन्ने अनुभूति चाहिएको छ। उनीहरूको पीडा यो देशको पनि पीडा हो भन्ने आश्वासन चाहिएको छ।’
बमले प्रधानमन्त्रीले विकास, नीति र प्रशासनिक कामसँगै नागरिकका दुःखमा संवेदनशील अभिभावकको भूमिका पनि निर्वाह गर्नुपर्ने बताइन्।
‘प्रधानमन्त्रीज्यू, ढुङ्गाको मन नबनाउनुस्। उनीहरूको भागको केही पीडा तपाईं लिनुस्, केही पीडा हामी लिन्छौँ। देशलाई प्रधानमन्त्रीका रूपमा संवेदनशील अभिभावक पनि चाहिएको हो,’ उनले लेखेकी छन्।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया