काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’ भन्दै वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
नेकपाको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले पछिल्लो राजनीतिक परिवर्तनसँगै दलाल पुँजीपति वर्गको प्रतिनिधिका रूपमा रास्वपा अघि आएको दाबी गरे।
उनका अनुसार वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस उक्त वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेको थियो। अहिले भने त्यसको स्थान रास्वपाले लिएको उनको जिकिर छ।
‘६२/६३ पछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि हुन्थ्यो,’ खनालले भने, ‘अहिले रास्वपा त्योभन्दा बढी दलाल पुँजीपति वर्गको प्रतिनिधिका रूपमा आएको छ। सत्ता उसकै हातमा छ।’
उनले रास्वपालाई कम्युनिस्ट शक्तिको मुख्य राजनीतिक तथा वर्गीय प्रतिद्वन्द्वीका रूपमा चित्रण गर्दै वर्तमान सरकारका आर्थिक नीति, नीति तथा कार्यक्रम र बजेटले आम तथा निम्नवर्गीय जनताको हित गर्न नसकेको आरोप लगाए।
सरकारका आर्थिक नीतिले सीमित वर्गलाई मात्र लाभ पुर्याएको र जनतामाथि करको भार थपिएको उनको भनाइ छ। सुकुम्बासी, विद्यार्थी, मजदुर तथा पत्रकारका समस्यासमेत सरकारले सम्बोधन गर्न नसकेको उनले बताए।
खनालले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजयलाई सामान्य रूपमा लिन नहुने बताए। बाह्य शक्तिको प्रभावभन्दा पनि आफ्नै नेतृत्वको कमजोरी, गलत निर्णय र कार्यशैलीका कारण कार्यकर्ता तथा समर्थकमा असन्तुष्टि बढेको उनको निष्कर्ष छ।
कम्युनिस्ट शक्तिहरूबीचको कमजोरीको फाइदा अन्य राजनीतिक शक्तिले उठाएको दाबी गर्दै उनले विगतका गल्तीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।
उनले कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै नयाँ ढङ्गबाट समाजवादी रूपान्तरणको आन्दोलन अघि बढाउनुपर्ने धारणा राखे।
‘हाम्रा विगतका कमजोरी सच्याएर सबै कम्युनिस्ट शक्ति एकताबद्ध हुनुपर्छ,’ खनालले भने, ‘नयाँ ढङ्गले समाजवादी क्रान्ति र रूपान्तरणको आन्दोलनलाई अघि बढाउन आवश्यक छ।’
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया