काठमाडौं । नेकपा एमालका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्।

शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमाले अहिले पार्टीलाई पुनः सुदृढ बनाउँदै पुरानै अवस्थामा फर्काउने अभियानमा रहेको बताए।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनबारे सामाजिक सञ्जाल, सार्वजनिक टिप्पणी वा बाहिरी छलफलबाट निर्णय हुन नसक्ने स्पष्ट पारे। एमालेको नेतृत्वसम्बन्धी कुनै पनि निर्णय पार्टीको विधि र प्रक्रियाअनुसार हुने उनको भनाइ थियो।

महासचिव पोखरेलले पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि केन्द्रीय कमिटीमा मात्र रहेको बताए।

‘जनतासँगको सम्बन्ध पुनः स्थापित गर्ने र कार्यकर्ताको मनोबल उच्च बनाउने विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको छ। यसका लागि कार्यदलसमेत गठन गरिएको छ,’ उनले भने।

उनका अनुसार एमालेले लोकतन्त्र र संविधानको रक्षाका लागि संसद्‌भित्र तथा बाहिर रहेका संविधान निर्माणमा भूमिका खेलेका राजनीतिक दलहरूसँग सहकार्यको प्रयास गरिरहेको छ।

पोखरेलले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारको स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्तिलाई रोक्न आवश्यक पहल गरिने बताए। त्यसका लागि राष्ट्रपतिसँग समेत संवाद गर्ने तयारी रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com