काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्।
फोहोर व्यवस्थापनका विषयमा मेयर महर्जनले फिनिस कम्पनी र नेपाल सरकारबीच भएको सम्झौताका कारण स्थानीय तहले आफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्न नसकेको आशय व्यक्त गरेको भन्दै तामाङले त्यसको प्रतिवाद गरेकी हुन्।
तामाङले विगतमा फिनिस कम्पनीसँग भएको सम्झौता कार्यान्वयन गर्ने वा अन्त्य गर्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिलाई कुन सरकारले रोकेको थियो भन्दै महर्जनलाई प्रश्न गरेकी छन्।
‘फिनिस कम्पनी र नेपाल सरकारबीचको सम्झौताका कारण आफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्न हामी मेयरहरूले नसकेका हौं रे। अनि किन फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न तपाईँहरूलाई कुन सरकारले रोकेको थियो त त्यो बेला मेयरहरूलाई?’ तामाङले प्रश्न गरेकी छन्।
उनले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा एउटै राजनीतिक शक्तिको सरकार रहेको स्मरण गराउँदै त्यतिबेला सम्झौता र फोहोर व्यवस्थापनको विषयमा आवश्यक पहल किन नगरिएको भन्दै प्रश्न उठाइन्।
तामाङले बन्चरेडाँडा फोहोर व्यवस्थापनका लागि फिनल्यान्ड सरकारले उपलब्ध गराएको अनुदानको उपयोगबारे समेत प्रश्न उठाएकी छन्। फोहोरबाट प्रभावित बन्चरेडाँडावासीको समस्या समाधान गर्न विगतका सरकारले प्रभावकारी काम नगरेको उनको आरोप छ।
‘पहिला त केन्द्रमा, प्रदेशमा, स्थानीयमा तपाईँहरूकै सरकार थियो होइन? फिनल्यान्ड सरकारले बन्चरेडाँडाका लागि दिएको अनुदान ग्वामग्वाम खाएर मोटाएको तपाईँकै केन्द्रीय सरकार थियो होइन? त्यतिबेला चाहिँ किन आवाज राख्नुभएन?’ उनले प्रश्न गरिन्।
बन्चरेडाँडाका फोहोर प्रभावित नागरिक समस्यामा पर्दा समेत अनुदानको प्रभावकारी उपयोग हुन नसकेको भन्दै तामाङले विगतका सरकार र स्थानीय जनप्रतिनिधिले त्यसको जवाफदेहिता लिनुपर्ने बताएकी छन्।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया