काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनको तयारीलाई लिएर सक्रिय देखिएका छन्। देउवा आइतबार चुनदेवीस्थित आफ्नो समूहले सञ्चालनमा ल्याएको सम्पर्क कार्यालयमा दोस्रोपटक पुगेका छन्।
महाधिवेशनलाई लक्षित गर्दै देउवा नेतृत्वको समूहले स्थापना गरेको कार्यालयमा केहीबेरअघि पुगेका देउवाले अहिले नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गरिरहेका छन्।
भेटका क्रममा देउवाले पार्टीभित्र देखिएको आन्तरिक विवाद, समूहको आगामी रणनीति तथा अब कसरी अघि बढ्ने भन्ने विषयमा नेता–कार्यकर्तासँग छलफल गरिरहेका छन्।
यसअघि स्वास्थ्य उपचारपछि नेपाल फर्किएलगत्तै साउन २८ गते पनि देउवा सिधै चुनदेवीस्थित यही सम्पर्क कार्यालय पुगेका थिए।
विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व गुमाएका देउवा पक्षका नेताहरूले १५औँ महाधिवेशनको तयारी, समन्वय र संगठनात्मक गतिविधिका लागि चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन्।
स्वास्थ्य उपचारपछि नेपाल फर्किएका देउवा हालसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपा भने पुगेका छैनन्। पार्टीको आगामी महाधिवेशन र आन्तरिक राजनीतिक समीकरणलाई लिएर देउवा पक्षले गतिविधि बढाइरहेका बेला चुनदेवीस्थित कार्यालयमा उनको निरन्तर उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया