काठमाडौं । नेपाली कांग्रेसले सेयर बजारको पछिल्लो अवस्था, देखिएका समस्या र सुधारका उपायबारे विज्ञहरूसँग परामर्श थालेको छ।

पार्टी सभापति गगन थापाले आर्थिक मुद्दालाई पार्टीभित्र र संसद्मा तथ्यमा आधारित ढंगले प्रभावकारी रूपमा उठाउन सांसद तथा कर्मचारीलाई आर्थिक विषयमा थप जानकार बनाउन यस्तो पहल गरिएको बताएका छन्।

यसैक्रममा कांग्रेसले आइतबार ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’को तेस्रो शृंखलाअन्तर्गत सेयर बजारका विज्ञ तथा अर्थशास्त्रीसँग छलफल गरेको हो। कार्यक्रमको सुरुवात गर्दै सभापति थापाले सेयर बजारको वर्तमान अवस्था र यससँग जोडिएका चुनौतीलाई कांग्रेसले गम्भीरतापूर्वक अध्ययन गर्न थालेको बताए।

निर्वाचन सम्पन्न भएपछि सेयर बजारले उत्साहजनक गति लिने अपेक्षा गरिए पनि त्यसअनुसार बजार अघि बढ्न नसकेको थापाले स्वीकार गरे।

‘निर्वाचनपछि सेयर बजार अत्यन्त राम्रोसँग अगाडि बढ्छ भन्ने अनुमान थियो, तर दुर्भाग्यवश जसरी जानुपर्ने हो, त्यसरी जान सकिरहेको छैन,’ उनले भने।

बजारमा अपेक्षित सुधार आउन नसक्नुका कारण, विद्यमान समस्या तथा तत्काल चाल्नुपर्ने कदमबारे विज्ञहरूबाट सुझाव लिन कार्यक्रम आयोजना गरिएको थापाले बताए।

सभापति थापाका अनुसार ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’लाई तीनवटा मुख्य क्षेत्रमा केन्द्रित गरेर अघि बढाइनेछ।

पहिलो, संसद् र सडकमा बहस भइरहेका समसामयिक आर्थिक विषयमा विज्ञसँग छलफल गर्ने। दोस्रो, सैद्धान्तिक तथा दीर्घकालीन आर्थिक विषयमा स्वदेशी र विदेशी विज्ञलाई सहभागी गराएर विस्तृत बहस गर्ने। तेस्रो, नयाँ पुस्तालाई आर्थिक मुद्दासँग जोड्दै फेलोसिपमार्फत पार्टीभित्र नयाँ आर्थिक ज्ञान र क्षमता विकास गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा प्रस्तुत विषय र विज्ञहरूबाट प्राप्त सुझावलाई कांग्रेसको विज्ञ टोलीले संकलन गर्ने थापाले बताए। ती सुझावका आधारमा प्रतिवेदन तयार गरी पार्टीका सांसदहरूलाई उपलब्ध गराइने उनको भनाइ छ।

‘हाम्रा सांसदहरूले संसद्मा कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउन सकून् भनेर हामीले यो गृहकार्य गरेका हौँ,’ थापाले भने।

डा. गोविन्द पोखरेलको संयोजनमा भएको छलफलमा अर्थशास्त्री, पुँजी बजारका विज्ञ तथा कांग्रेसका नेता–कार्यकर्ताको सहभागिता थियो।

थापाले कांग्रेस अब राजनीतिक नारामा मात्र सीमित नभई मुलुकको आर्थिक समृद्धिका लागि ठोस एजेन्डा निर्माण गर्न विज्ञहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com