काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला संग्रौलाले नाबालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति जनाएकी छन्।

प्रहरीसमक्षको बयानजस्तो संवेदनशील सामग्री कसरी सार्वजनिक भयो भन्ने विषयमा तत्काल छानबिन गर्नुपर्ने माग संग्रौलाले गरेकी हुन्।

उनले नाबालिकाको हत्यासँग सम्बन्धित गम्भीर तथा क्रूर बयान सार्वजनिक गर्दा त्यसले समाज र विशेषगरी संवेदनशील अवस्थामा रहेका व्यक्तिमा पार्न सक्ने प्रभावबारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले प्रहरीको नियन्त्रणमा दिइएको बयानको भिडियो सामाजिक सञ्जालमा फैलाउने, पठाउने, सर्कुलेट गर्ने तथा प्रसारण गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेकी छन्।

‘नाबालिकाको हत्याराले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो? यस्तो गम्भीर र क्रूर बयान सार्वजनिक गर्दा समाजमा कस्तो असर पर्छ भन्ने सामान्य चेतसमेत नराखी सञ्जालमा भिडियो छरपस्ट पार्ने, पठाउने, सर्कुलेट गर्ने र प्रसारण गर्नेलाई खोजी–खोजी कानुनी दायरामा ल्याइयोस्,’ उनले भनेकी छन्।

संग्रौलाले घटनासँग सम्बन्धित संवेदनशील सामग्री सार्वजनिक गर्ने प्रवृत्तिमाथि राज्यका सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताएकी छन्।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com