विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको छ। प्रस्तावको विपक्षमा २२ मत परेको छ भने ४ जना सांसदले पक्ष वा विपक्षमा मतदान नगरेको जनाएका छन्।

कोशी प्रदेशसभामा ९२ सदस्य रहेकाले सरकार टिकाउन ४७ मत आवश्यक पर्छ। मुख्यमन्त्री कार्कीले आवश्यक बहुमतभन्दा १० मत बढी प्राप्त गरेका हुन्। मतदानमा ८३ जना सांसद सहभागी भएका थिए भने जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू अनुपस्थित रहिन्।

मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा (एमाले)का ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ सांसदले मतदान गरेका हुन्।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन गत भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले संविधानअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। सोहीअनुसार उनले सोमबारको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन ९ गते भएको तीनबुँदे सहमतिपछि कोशी प्रदेशमा नयाँ सत्ता समीकरण बनेको थियो। नयाँ समीकरणअनुसार सरकार सञ्चालनका लागि मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन्।

यसअघि कार्कीले पहिलोपटक २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि वैशाख ३१ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनको पक्षमा ५७ मत परेको थियो।

त्यसपछि केन्द्रमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन परिवर्तन भई एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनेपछि कार्कीले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ र जसपा नेपालका १ सांसद छन्।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com