काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएर सहभागी हुने भएका छन्।

उज्यालो प्रकाशमा हेर्न असहज हुने आँखासम्बन्धी समस्याका कारण चिकित्सकको सिफारिससहित संसद् सचिवालयमा मेडिकल रिपोर्ट बुझाइएकाले प्रधानमन्त्रीलाई कालो चस्मा प्रयोग गर्न अनुमति दिइएको हो।

यसअघि कार्यव्यवस्था परामर्श समितिले संसद्को मर्यादा कायम राख्न सामान्य अवस्थामा बैठकमा कालो चस्मा प्रयोग गर्न नपाइने निर्णय गरेको थियो। स्वास्थ्यका कारण अनिवार्य भएमा भने आधिकारिक मेडिकल रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहको तर्फबाट आवश्यक मेडिकल रिपोर्ट सचिवालयमा प्राप्त भइसकेको छ। त्यसैले नियमअनुसार उनले संसद् बैठकमा कालो चस्मा प्रयोग गर्न पाउने भएका हुन्।

प्रधानमन्त्री शाहले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले परीक्षणपछि आँखालाई तीव्र उज्यालोबाट जोगाउन कालो चस्मा प्रयोग गर्न सिफारिस गरेका थिए।

यससँगै प्रधानमन्त्री शाह आगामी प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नको जवाफ दिँदा कालो चस्मामै उपस्थित हुने भएका छन्।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com