काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारको अभियोग लागेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार कर्णलाई धरौटीमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

अदालतले माग गरिएको २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएमा तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। तोकिएको धरौटी वा बैंक जमानत दिन नसके उनलाई कारागार पठाउनसमेत अदालतले आदेश दिएको छ।

कर्णविरुद्ध ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन, प्रयोग तथा त्यसको स्रोत लुकाएको अभियोग लगाइएको छ।

अभियोगपत्रअनुसार हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ रहँदा कर्णले आफ्नो पदको दुरुपयोग गरी अन्य प्रतिवादीसँगको मिलेमतोमा नेपाल रिइन्स्योरेन्सको सेयरमा कर्नरिङ तथा कृत्रिम रूपमा मूल्य उतारचढाव गराएको र बिमा कोषको रकमसमेत दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोप छ।

तर अदालतमा बयान दिने क्रममा कर्णले आफूले बिमा प्राधिकरणबाट आवश्यक स्वीकृति लिएर कम्पनीको मुनाफाका लागि सेयरमा लगानी गरेको दाबी गरेका छन्। सेयरको कृत्रिम मूल्य सिर्जना गर्ने तथा बिमा कोषको रकम दुरुपयोग गर्ने कार्यमा आफ्नो कुनै संलग्नता नरहेको उनको जिकिर छ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com