काठमाडौं । मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले नेपाल प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रमेश केसीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरेको छ। उनलाई शान्ति–सुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रको जिम्मेवारी दिइएको छ।
त्यस्तै, प्रदेश सरकारले सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
बैठकले २०८३ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत संघीय सरकारका दरबन्दीका कर्मचारीसहित प्रदेश, स्थानीय तह र करार कर्मचारीका लागि नयाँ तलबमान कायम गर्ने निर्णयसमेत गरेको छ।
मुख्यमन्त्री शाहीले भदौ ३ गते नेकपा एमालेबाट तीन जना मन्त्री नियुक्त गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो। चार सदस्यीय मन्त्रिपरिषद्ले यी निर्णय गरेको आर्थिक मामिला मन्त्री टेकराज पछाईंले जानकारी दिए।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया