काठमाडौं। रसुवामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्याएपछि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्रसहित विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बाढीले विद्युत् संरचनासँगै घर, सडक, पुललगायत अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुर्याएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा रहेका सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधारणको खोज तथा उद्धारका लागि सम्बन्धित सबै पक्षलाई तत्काल परिचालित हुन आग्रह गरेको छ।
नदी, खोला तथा तटीय क्षेत्रमा रहेका नागरिक र प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन तथा थप जोखिम देखिए सुरक्षित स्थानमा जानसमेत आग्रह गरिएको छ।
विद्युत् आपूर्ति यथाशीघ्र नियमित गराउन प्राधिकरणले आवश्यक प्रयास गरिरहेको जनाएको छ। साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र विश्वास गर्न र अपुष्ट समाचार तथा अफवाहको पछि नलाग्न प्राधिकरणले आग्रह गरेको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार










प्रतिक्रिया