काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा तत्काल जुट्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले बाढीमा घाइते भएकाको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय गर्न सरकारलाई आग्रह गरे।

उनले विपद्को यस घडीमा राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी उद्धार, राहत तथा प्रभावित नागरिकको सहयोगमा केन्द्रित गर्न निर्देशन दिए।

भोटेकोशी बाढीबाट ठूलो क्षति भएकाले राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग र समन्वय गर्न निजी क्षेत्र, गैरसरकारी संस्था तथा नागरिक समाजलाई समेत सभामुख अर्यालले आह्वान गरे।

विपद्को गम्भीर अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधिसभाको आजको बैठकका लागि निर्धारित सम्पूर्ण कार्यसूची हटाइएको जानकारीसमेत उनले गराए।

सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक भदौ ११ गते बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन्।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com