काठमाडौं । बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि विश्व बैंक, भारत र चीनले सहयोग अघि बढाउने भएका छन्। विश्व बैंकले आपत्कालीन सहयोगस्वरूप नेपाललाई करिब २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सकिने जानकारी दिएको छ।

बाढीको अवस्था सार्वजनिक भएलगत्तै बुधबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहायता जुटाउन सकिने जानकारी गराएका हुन्।

यता, भारतले बाढीपीडितका लागि आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउने तयारी गरेको छ। भारतीय पक्षले नेपाल सरकारसँग तत्काल आवश्यक सामग्रीको सूची मागेको र सोहीअनुसार राहत सामग्री काठमाडौं पठाउने तयारी भइरहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।

त्यस्तै, चीनले पनि नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन्।

विश्व बैंक तथा छिमेकी मुलुकबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत प्राप्त हुने सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।

यसैबीच, सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। उक्त निर्णयसँगै प्रभावित क्षेत्रमा स्वदेशी तथा अन्तर्राष्ट्रिय स्रोतबाट राहत तथा पुनर्निर्माणका लागि सहयोग परिचालन गर्ने बाटो थप सहज भएको छ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com