काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका परिवार तथा समुदायलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैसँग अपिल गरेकी छन्।

बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै कार्कीले प्रभावित नागरिकलाई आफूहरू एक्लो नरहेको अनुभूति दिलाउनुपर्ने बताएकी हुन्।

उनले भोटेकोशी बाढी कुनै एक परिवार, समुदाय वा जिल्लाको मात्रै समस्या नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको उल्लेख गरेकी छन्।

‘यो कुनै एक परिवार, समुदाय वा जिल्लाको मात्र दुःख होइन, यो हामी सबै नेपालीको साझा पीडा हो। विपद्ले जहाँ प्रहार गरेको छ, त्यहाँ हाम्रो साथ, सहयोग र सहारा पुग्नुपर्छ,’ कार्कीले भनेकी छन्।

उनले विपद्को सामना गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताउँदै संकटबाट प्रभावित नागरिकको जीवनरक्षाका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएकी छन्।

कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो सामर्थ्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्नसमेत आग्रह गरेकी छन्। उनका अनुसार विपद्का बेला व्यक्तिले गर्न सक्ने सानो सहयोग पनि पीडित परिवारका लागि ठूलो भरोसा र आशाको आधार बन्न सक्छ।

‘कसैका लागि सानो देखिने सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो भरोसा र आशाको आधार बन्न सक्छ। तसर्थ, आफ्नो गाँस काटेर भए पनि सहयोग गरौँ,’ उनले अपिल गरेकी छन्।

आउँदा चाडपर्वका खर्चसमेत सकेसम्म कटौती गरेर संकटमा परेका नागरिकको जीवनरक्षा तथा परिवार सम्हाल्न योगदान गर्न उनले आग्रह गरेकी छन्। यस्तो सहयोगलाई उनले मानवीय संवेदना, आत्मीयता र नागरिकको जिम्मेवारीसँग जोड्दै विपद्मा परेकालाई साथ दिनु सबैको दायित्व भएको बताएकी छन्।

विपद्को समयमा राष्ट्रको सबैभन्दा ठूलो शक्ति एकता भएको उल्लेख गर्दै कार्कीले अहिले देखाइने सहयोग, सहकार्य र ऐक्यबद्धताले प्रभावित नागरिकका लागि भोलिको आशा निर्माण गर्ने विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com