काठमाडौं । लोकप्रिय गायिका बेनिशा पौडेलले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।
बेनिशा पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेकी हुन् । देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले विपद्मा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत पौडेलले विपद्को यस कठिन परिस्थितिमा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिन आह्वान गरेकी छन् ।
उनले लेखेकी छन्, ‘गुमाएका अमूल्य जीवन फर्काउन त सक्दैनौँ, तर पीडामा रहेका दाजुभाइ–दिदीबहिनीको घाउमा मलम लगाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा हातेमालो गर्न अवश्य सक्छौँ।’ पौडेलले विपद्को समयमा आफुले सकेको सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकी छन् ।
उनको यो सहयोगले विपद्को समयमा कलाकार तथा सार्वजनिक व्यक्तित्वले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा पुनःस्थापनाको अभियानमा योगदान दिन सम्पुर्णमा सकारात्मक सन्देश दिएको छ ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया