काठमाडौं । बाढी, पहिरो, आगलागीलगायत विपद्का बेला उद्धार तथा राहतमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय सरकारले गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धारमा खटिने जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
विपद्को जोखिमपूर्ण अवस्थामा ज्यानको परवाह नगरी उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले सुविधा वृद्धि गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार निर्णय कार्यान्वयनका लागि सम्बन्धित सुरक्षा निकायले तालुकदार मन्त्रालयमा प्रस्ताव पठाउनेछन्। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी भत्ता तथा खाजा खर्च वृद्धिबारे निर्णय गर्नेछ।
सरकारले विपद् व्यवस्थापनलाई थप प्रभावकारी र छिटो बनाउन उद्धारमा प्रत्यक्ष खटिने जनशक्तिलाई प्रोत्साहन आवश्यक रहेको निष्कर्षसहित सेवा–सुविधा बढाउने प्रक्रिया अघि बढाएको हो।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया