काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी आउन सक्ने चेतावनी जारी भएपछि नुवाकोटको ढुङ्गे बजारका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ।
तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले ढुङ्गे बजारमा ठूलो क्षति पुर्याएको थियो। बाढीले बगाएर ल्याएको माटो, ढुंगा, बालुवा तथा लेदोले बजार क्षेत्र पुरिएको छ भने आसपासका बस्तीसमेत जोखिममा परेका छन्।
भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर ताल बनेको र त्यसमा पानीको मात्रा बढ्दै गएको तथा ताल फुटेमा पुनः ठूलो बाढी आउन सक्ने सूचना प्राप्त भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको हो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले ढुङ्गे बजार तथा नदी आसपासका बस्तीमा रहेका स्थानीयलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा लैजाने काम गरिरहेको छ।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले दिएको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया