काठमाडौं। लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै देशभरका विश्वविद्यालयका उपकुलपतिहरूलाई पत्र पठाउँदै तत्कालका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्।
शिक्षा मन्त्रालयका अनुसार स्थगित परीक्षाहरूको नयाँ तालिका मौसम तथा विपद्को अवस्थाको मूल्याङ्कन गरी उपयुक्त समयमा सार्वजनिक गरिनेछ।
यसअघि भदौ १२ गते सञ्चालन भएका परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका विद्यार्थीका लागि समेत पुनः परीक्षाको व्यवस्था मिलाउन विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ।
मन्त्री पोखरेलले परीक्षा बाहेक अत्यावश्यक नभएका सभा, सम्मेलन, गोष्ठी, सेमिनार तथा अन्य सामूहिक कार्यक्रमहरू पनि तत्कालका लागि स्थगित गर्न आग्रह गरेका छन्।
सरकारले विपद् प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र शैक्षिक संस्थामार्फत निरन्तर समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ।
त्यस्तै, प्रभावित विद्यार्थी तथा अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विद्यार्थीको अध्ययन निरन्तरताका लागि आवश्यक सहजीकरण गर्न समेत विश्वविद्यालयहरूलाई भनिएको छ।
वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीको सुरक्षा पहिलो प्राथमिकतामा राखेर निर्णय कार्यान्वयन गर्न मन्त्री पोखरेलले विश्वविद्यालय पदाधिकारीहरूलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया