काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८७ वर्षीया राजी राणाले १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का प्रभावितका लागि उनले उक्त रकम उपलब्ध गराएकी हुन्।
व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा ग्रहण गरेका हुन्।
राणाबाट प्राप्त सहयोग व्यक्तिगत क्षेत्रबाट राहत कोषमा उपलब्ध गराइएको ठूलो सहयोगमध्ये एक रहेको बताइएको छ।
चेक हस्तान्तरण कार्यक्रममा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले समेत आफ्नो तर्फबाट ८० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।
यसैगरी, राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री सहयोग गर्ने तयारी गरेकी छन्। उक्त सहयोग आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पुर्याउन अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ।
विपद्को कठिन समयमा निजी क्षेत्र तथा व्यक्तिहरूबाट प्राप्त सहयोगले उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार











प्रतिक्रिया