काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले ‘रोड टु यूएफसी सिजन–५’ को सेमिफाइनलमा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत ढाँटलाई बधाई दिँदै उनको सफलतालाई नेपाली खेलकुदका लागि गौरवको विषय भएको बताएका हुन्।
साथै, नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन भूमिका खेलेको भन्दै शाहले ढाँटलाई सरकारका तर्फबाट धन्यवादसमेत दिएका छन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
उनले ढाँटको सफलताले नेपाली खेलप्रेमी मात्र नभई सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले अहिले सरकारको सम्पूर्ण ध्यान विपद् प्रभावित नागरिकको उद्धार तथा राहतमा केन्द्रित रहेको समेत बताएका छन्। प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ।
प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया