रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै नक्कली बैंक स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गरेको आरोपमा रामेछाप प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सदस्यसमेत रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान् कार्की छन्। कार्की रास्वपाको गोकुलगंगा गाउँपालिका कार्यसमितिका सहसचिवसमेत रहेको बताइएको छ।

कार्की गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शारदा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा वर्तमान सांसद डा. कृष्णहरि बुढाथोकीका तर्फबाट प्रतिनिधिका रूपमा खटिएका थिए।

प्रहरीका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

अनुसन्धानका क्रममा उनले वास्तवमा उक्त रकम कोषमा जम्मा नगरेको र ChatGPT को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट तयार पारेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले नक्कली स्टेटमेन्टमा आफ्नै व्यक्तिगत क्यूआर कोडसमेत राखेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

नक्कली स्टेटमेन्टलाई वास्तविक ठानी सर्वसाधारणले राहत कोषमा रकम पठाएको भ्रममा आफ्नो व्यक्तिगत खातामा पैसा पठाउन सक्ने अवस्था देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कार्कीविरुद्ध घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक राउतले जानकारी दिए।

 

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com