काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार साँझसम्म दुई हजार ७४२ जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार उद्धार गरिएकामध्ये रसुवाबाट ७१९, नुवाकोटबाट दुई हजार २० र धादिङबाट तीन जना छन्।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १६० जना रहेको उनले जानकारी दिए।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही कर्मचारीसहित जलविद्युत् आयोजनामा काम गर्नेहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागनम कार्यालयका चार, रसुवाबाट ६२२, नुवाकोटबाट ११५, जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन भएका छन्।

यस्तै, मकवानपुरबाट ६५, विदेशी नागरिक ५९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कायालयका तीन गरी दुई हजार ५०२ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार गरिरहेका छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै सम्पर्कविहीनको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच, विभिन्न जिल्लाबाट ७८८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २६४, नवलपरासीपूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com